वीरगंज । रौतहट ईशनाथ नगरपालिकामा आँप टिपेको विवादका कारण १७ वर्षीय किशोर सहबाज मियाँ आलमको हत्या भएको घटना प्रहरी अनुसन्धानले खुलासा गरेको छ। प्रहरीका अनुसार, किशोरको हत्या आरोपमा बौधीमाई नगरपालिका–१ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ–३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साहलाई पक्राउ गरी सार्वजनिक गरिएको छ।
घटना मंगलबार राति भएको हो। पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् दशई साह र रोशन साहलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो। प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार, दशईले पछाडिबाट अनुहारमा रड प्रहार गरेका थिए भने भुईँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा आलमको घटनास्थलमै मृत्यु भएको थियो।
डीएसपी गिरीका अनुसार, मृतक आलम मंगलबार राति सौच गर्न गएको बेला दशई र रोशनले उनलाई आँपको बगैँचामा पक्रिएर हमला गरेका थिए। घटनाको एक दिन अघि मृतक आलमले आफ्ना भाइ १० वर्षीय साबिर मियाँ आलमसँग आँप टिपेको विवादका कारण दशई साहलाई थप्पड हानेका थिए। सोही घटनाको बदला लिन दशईले साथी रोशनसँग मिलेर आलमको हत्या योजना बनाएको प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए। आरोपी दुवैजनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।