पर्सा । पर्सा जिल्लाको पोखरिया नगरपालिकाको आठौँ नगर सभा शुक्रबार सम्पन्न भयो। नगरसभाले रु ४७ करोड १२ लाख ९३ हजारको बजेट सर्वसहमतिले पारित गरेको छ। पोखरिया नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार, वित्तीय समानीकरण अनुदानको रुपमा रु ११ करोड १ लाख २ हजार, सर्शत अनुदान चालू तर्फ रु २० करोड ४५ लाख ९९ हजार ३, सशर्त अनुदान पूँजीगत तर्फ रु १ करोड ४ लाख, सम्पूरक अनुदान रु १४ करोड ५ हजार रहेका छन्। यस वर्ष नगरपालिकाले विशेष अनुदान प्राप्त गरेको छैन।
त्यस्तै, राजस्व बाँडफाँड तर्फ रु ९ करोड २ लाख ७ हजार, वित्तीय समानीकरण प्रदेश सरकारबाट रु ७८ लाख ९४ हजार ८ सय, प्रदेश सरकारको सशर्त अनुदान पूँजीगत तर्फ रु ९५ लाख १० हजार, सम्पूरक अनुदान पूँजीगत तर्फ रु २० लाख ११ हजार, विशेष अनुदान चालू तर्फ रु ३० लाख १२ हजार रहेका छन्।
प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड रु ५० लाख १३ हजार, मालपोतबाट प्राप्त राजस्व स्थानीय स्तरमा रु १ करोड १४ लाख, आन्तरिक स्रोत स्थानीय स्तरबाट रु ५० लाख गरि जम्मा रु ४७ करोड १२ लाख ९३ हजारको बजेट पारित भएको नगरपालिकाले जनाएकाे छ।
नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न नगर सभामा वडाध्यक्षहरु केदार महतो चाई, प्रमोद गिरी, लक्ष्मण साह कानू, सयानंद प्रसाद चौहान, रामप्रबेश प्रसाद चौहान, प्रमानन्द प्रसाद कुर्मी, किशोरी साह, सोनालाल साह गोड, नौशाद आलम, कार्यपालिका सदस्यहरु राधा साह, रामबचन महतो, अजय कुमार कलवार, सुगन्धि देनी पटेल, चुनी देनी, सिमा देवी पटेल, सलीमा खातून, तेतरी देवी लगायत अन्य नगर सभा सदस्यहरु, लेखापाल मनदीप महतो र नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण नगरपालिकाका कर्मचारी नरेन्द्र साहले गरेका थिए।