वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुले नेपाली काँग्रेसका वरिष्ठ नेता माननीय डा. शेखर कोइरालासँग एक समारोहमा भेटघाट एवम् छलफल गरेका छन्।
कार्यक्रममा वीउवासङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पर्सा–बारामा अवस्थित उद्योग, व्यापारको खस्किदो अवस्था, निजी क्षेत्रले भोगिरहेका प्रशासनिक एवम् प्रक्रियागत जटिलता बारे डा. कोइरालाको ध्यानाकर्षण गराएका थिए। उनले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित अनेकानेक नियमनकारी निर्देशिका र नीतिगत जटिलताका साथै कर, राजस्व, भंसार सम्बन्धी अपारदर्शी–अव्यवहारिक ऐन नियमका कारण आर्थिक क्रियाकलाप निरन्तर खस्किरहेको बारे जानकारी गराउँदै यी नीतिगत समस्याहरु समाधान गर्न आग्रह गरेका थिए।
यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ–मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, वीउवासङ्घका पूर्व अध्यक्ष विजयकुमार सरावगी, ओमप्रकाश सिकरिया, उपाध्यक्ष माधव राजपालले उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्था र कर, भंसार तथा राजस्वका विभिन्न समस्याहरुको समाधानका लागि डा. कोइरालासमक्ष आ–आफ्नो धारणा राखेका थिए।
नेपाली काँग्रेसका वरिष्ठ नेता माननीय डा. शेखर कोइरालाले सङ्घका अध्यक्ष लगायत उद्योगी व्यवसायीहरुबाट प्रस्तुत समस्याहरुलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। नेपाली काँग्रेस खुला एवम् उदार अर्थतन्त्रका पक्षपोषक भएकोले निजीक्षेत्रको संरक्षण, सम्बद्र्धन एवम् प्रबद्र्धनका लागि सदैव तत्पर रहने पार्टी रहेको उनले बताएका छन्। उनले उद्योग, व्यापार सम्बन्धी समस्या, बैंक सम्बन्धी अपारदर्शी नीति एवम् कर, राजस्व, भंसार सम्बन्धी नीतिगत जटिलतालाई निरुपण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। आउँदा दिनहरुमा अर्थतन्त्रका साथै उद्योग व्यापार र निजी क्षेत्रका आवाजलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनले बताए।
वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद ज्ञापन गरेका उक्त कार्यक्रममा वीउवासङ्घका पूर्व अध्यक्ष तथा मधेश प्रदेशका पूर्व ऊर्जा तथा खानेपानी मन्त्री मा. ओमप्रकाश शर्मा, सङ्घका उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष शिवजी साह कलवार, सचिव प्रेमचन्द्र गोयल, पदाधिकारी एवम् का.स.स.हरुको उपस्थिति रहेको थियो।