वीरगन्ज | वीरगन्जमा ९ बर्षपहिले मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाकाे शालिक फेरि ठडिएकाे छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको इदगाह चोकमा जिपी कोइराला फाउण्डेशनले पुनर्निर्माण गरि ठड्याएकाे नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका स्व. कोइरालाको शालीक मंगलबार कांग्रेसका बरिस्ठ नेता शेखर काेइरालाले अनावरण गरेका हुन्।स्व.काेइरालाकाे १०१ ओैं जन्मजयन्तिका दिन पुनर्निमित शालिककाे अनावरण गरिएको हाे।
शालिक अनावरण कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे,केन्द्रीय सदस्यहरु शंकर भण्डारी,रमेश रिजाल,अजय चाैरसिया,अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, प्रदेशसभा सदस्य श्याम पटेल, शंकर चाैधरी,पूर्वमन्त्री ओमप्रकाश सर्राफ,संविधानसभा सदस्य अजय द्विवेदी,वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतकाे सहभागीता थियाे।
फाउन्डेसनले नै २०७२ असार १८ गते स्थापना गरेकाे स्व. काेइरालाकाे शालीक मधेस आन्दोलनमा २०७२ भदौं १५ गतेका दिन आन्दोलनकारीले तोडफोड गरेर भत्काई दिएका थिए ।
त्यहि स्थानमा अहिलेफेरि स्व. कोइरालाको पूर्ण कदको नयाँ शालीक निर्माण गरी अनावरण गरिएको हो। कांग्रेस पर्सा २ का क्षेत्रीय सभापति एंव फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष महम्मद शाहबुद्धिनका अनुसार, मधेस प्रदेश सरकारबाट प्राप्त १६ लाख रुपैयाँ बजेटबाट इदगाह चोकमा स्व. कोइरालाको पूर्ण कदको नयाँ शालिक निर्माण गरी अनावरण गरिएको हो ।पित्तल लगायतका धातुबाट निर्मित करिब ६ फिट उचाईको उक्त शालिक ११ लाख रुपैयाँमा काठमाडौंबाट खरिद गरेर ल्याइएको उनले जानकारी दिए ।
मधेस प्रदेश सरकारबाट प्राप्त कूल १६ लाख रुपैयाँ बजेटमध्ये ११ लाख रुपैयाँमा शालीक खरिद गरिएको र बाँकी ५ लाख रुपैयाँ शालिक राखिएको पार्कको मर्मत सम्भार र सौन्दर्यकरणमा खर्च गरिएको उनले बताए ।