वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु असार २३ गते बन्द रहने भएका छन्। गहवामाईको रथ यात्रा निकालिने भएकाले सो दिन महानगरपालिकाका सबै विद्यालयहरूमा विदा दिने निर्णय गरिएको हो। सोमबार वीरगञ्ज महानगरपालिका नगरकार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै यस कुराको जानकारी गराएको हो।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, “असार १६ गते महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले ऐतिहासिक गहवामाईको भव्य रथ यात्रा असार २३ गते निस्किने भएकाले उक्त रथ यात्रामा बढीभन्दा बढी भक्तजनहरूको सहभागीता गराउनका लागि सबै शैक्षिक संस्थामा बन्द गर्ने निर्णय गरेको हो।”
साथै, उक्त सूचना मार्फत नै पूर्व निर्धारित छात्रवृत्ति वितरण कार्यक्रम असार २४ गते गर्ने निर्देशन पनि महानगरपालिकाले दिएको छ। गहवामाईको नवनिर्मित मन्दिरको १२ बर्ष पूरा भएको उपलक्ष्यमा असार २३ गते भव्य रथ यात्रा निकाल्न लागिएको हो। यसअघि गत बर्ष असार ५ गते पहिलो पटक गहवामाईको रथ यात्रा निकालिएको थियो।