वीरगंज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले असार १५ गते राष्ट्रिय धान दिवसको उपलक्ष्यमा देशभर नै खेतमा धान रोपेर कार्यक्रमको उद्घाटन गरेका छन्। स्थानीय कृषक, कर्मचारी, युवा, र युवतीहरूले हर्षोल्लासका साथ धान दिवस मनाइरहेका छन्।
वीरगंज महानगरपालिका अन्तर्गत रहेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाद्वारा आयोजित २१ औं राष्ट्रिय धान दिवस ‘धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ मनाइएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका उपप्रमुख एवम् कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धनका संयोजक इम्तियाज आलम थिए।
आलमले उत्कृष्ट कृषकहरूलाई प्रमाणपत्र दिँदै सम्मान गरे। आफ्नो मन्तव्यमा आलमले भने, “नेपाल एक कृषि प्रधान देश हो। धान दिवस कृषकहरूको उत्साहको पर्व हो। कृषकहरूले हर्षोल्लासका साथ यो पर्वलाई देशभरि मनाउने गर्दछन। आज मलाई गर्व महसुस भैरहेको छ कि म पनि धान रोपेर यो पर्वलाई धूमधामका साथ मनाइरहेको छु।”
आलमले आफ्नो बाल्यकालको सम्झना गर्दै भने, “बाल्यकालमा म पनि बुवासँग खेतमा गएर हिलो खेल्थे र धान रोप्ने गर्थें। मेरो खेतमा धान रोप्नेहरूले गीत गाउँथे र एक आपसमा मजाक गर्थे। खेत रोपेर गीत गाउँदै घरमा आउँदा आमाले खानेकुरा दिनुहुन्थ्यो, धेरै रमाइलो हुन्थ्यो। म पनि किसानकै छोरो हुँ।”
उक्त धान दिवस वडा २७ का वडा अध्यक्ष हृदयनारायण कुर्मीको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, विभिन्न शाखा प्रमुखहरू हरि शंकर राउत, रुपनारायण कुर्मी, प्रतिज्ञा बैध, सुनिल कर्ण, राम कुमार कुशवाहा, रोशनी यादव लगायत स्थानीय वासीहरूको सहभागिता रहेको थियो।
सो कार्यक्रमको जानकारी वीरगञ्ज महानगरपालिकाका उपप्रमुखको प्रेस सल्लाहकार महमद सदाबले दिएका थिए।
यो उत्सवले वीरगंजका कृषकहरूमा आत्मनिर्भरता र समृद्धिको भावना प्रवर्द्धन गर्न मद्दत पुर्याएको छ। सहभागीहरूले धान रोपेर मात्र होइन, एकआपसमा सशक्तिकरण र एकताको सन्देश पनि आदान-प्रदान गरे।