वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जनप्रतिनिधिलाई कानुनी कारबाहीको माग गर्दै सचेत नागरिक समाजले ज्ञापनपत्र बुझाएको छ। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सचेत नागरिक समाजले यो ज्ञापनपत्र बुझाएको हो।
सचेत नागरिक समाजले ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कानुनी कारबाही गर्न र भौतिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउन माग गरेका छन्।
असार १० गते भएको दशौँ नगरसभाको तेस्रो बैठकमा जनप्रतिनिधिहरूबाट प्रहरी प्रशासनको बाक्लो उपस्थितिमा सार्वजनिक सम्पत्तिमा तोडफोड भएको थियो।
यो घटना खेदजनक र भत्सनायोग्य भएको जनाउँदै सचेत नागरिक समाजले यसलाई आम जनताले कुन रूपले लिने सोचनीय विषय भएको उल्लेख गरेको छ।
ज्ञापनपत्र बुझ्दै उपमहानगरकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेले नगरसभा व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार्दै, भविष्यमा यस्ता कमीकमजोरीहरू नदोहोर्याउन ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन्। साथै, उनले सार्वजनिक सम्पत्तिको क्षतिपूर्तिको विषयमा कानुनी प्रक्रिया पूरा गरेर अघि बढ्ने बताइन्।