वीरगंज | धान रोप्दा मान्छे लगाउने हो भने एक बिघामा १२ हजार रुपैयाँ ज्याला लाग्छ तर धान रोप्ने मेसिन लगाउँदा पाँच हजारले पुग्छ
चितवन — असार लागेसँगै नेपालमा धान रोपाइँ सुरु हुन्छ । चितवनमा रोपाइँसँगै धान स्याहार्ने चटारो पनि यही बेलामा पर्दछ । जिल्लाको पूर्वी क्षेत्र रत्ननगर, खैरहनी र राप्ती नगरापलिकामा राजमार्गदेखि दक्षिण राप्ती नदी आसपासमा चैते धान पनि रोप्ने चलन छ । चैते धान असारमै पाक्छ । पाकेको धान स्याहार्दै गर्दा ह्वार्र पानी परे या झरी बढे बर्बादै हुने डर किसानलाई हुन्थ्यो । तर यो पुरानो कुरा भएको छ
चितवनमा गएको शुक्रबार बिहानैदेखि आकाशमा बादल थियो । मध्याह्नतिर आकाश झनै कालो भयो । धान रोप्ने किसान यो देख्दा पनि खुसी नै छन् । खैरहनी नगरपालिका–१२ सिसहनीकी रीता रेग्मीले एक बिघा दुई कट्ठामा लगाएको चैते धान पाकेर काट्न ठिक्क थियो । यस्तो बेला आकाश देख्दा उनको मन तड्पिनुपर्ने हो । तर पानी परी हाले विचार गरौंला नभए फरक पर्दैन भन्दै उनी खेतमा पुगिन् ।
मान्छे लगाएर काट्नुपरेको भए उनले आँट्ने नै थिइनन् । तर खेतमा धान काट्ने ठूलो मेसिन नाच्न सुरु गरिहाल्यो । एक घण्टा बित्दा नबित्दै धान काट्ने काम सकियो । ठूलो मेसिनले खेतमै पराल एकातिर दाना एकातिर हुने गरेर धान काट्छ । धान काटिसकेपछि सिधै खेतमै पुगेको ट्र्याक्टरको ट्रलीमा खन्याइदिन्छ । कामदार लगाउँदा जस्तो धान काट्ने, मुठा पार्ने, बोक्ने, झार्ने, बोरामा राख्ने केही गर्नै परेन । ‘मेसिन नभएर त्यसरी मान्छे लगाएर काम गर्दा यो असार मास धान स्याहार्दा हुनसम्मको सास्ती हुन्थ्यो । काट्दै बोक्दै गर्दा धेरै पटक पानीले भिजेर धान बर्बाद परेको छ,’ रीताले सुनाइन् । उनले यसरी धान काट्ने कम्बाइन हार्भेस्टर भनिने ठूलो मेसिन प्रयोग गर्न लागेको १० वर्षभन्दा बढी भयो । अहिले रत्ननगर, खैरहनी राप्ती क्षेत्रमा धान काट्ने यस्ता ठूला मेसिनको ओहोरदोहोर निकै बढेको छ ।
घण्टाको चार हजार रुपैयाँका दरले मेसिनले धान काट्ने गरेका छन् । कुनै बेला सात आठ हजार रुपैयाँसम्म तिर्नुपर्दथ्यो । तर मेसिनको संख्या बढेसँगै प्रतिस्पर्धाका कारण भाडा घट्दा किसानलाई राहत भएको छ । चितवनमा यो बेला धान स्याहार्न मात्रै होइन, धान रोप्न पनि मेसिन प्रयोग हुन्छ । मेसिन प्रयोग गरेर धान रोप्दा खर्च कम हुने मात्रै होइन, उत्पादन पनि बढेको किसानको अनुभव छ ।
रामपुर कृषि क्याम्पसबाट ०५० सालमा कृषिमा स्नातक गरेका रत्ननगर नगरपालिका–६ बछौलीका सत्यनारायण चौधरीको दुई बिघा १० कट्ठा खेत छ । १० कट्ठामा अरू बाली लगाए पनि उनले दुई बिघामा चैते धान रोप्छन् । चैते धान स्याहारेपछि बर्खे धान लगाइहाल्छन् । भर्खर चैते धान स्याहारेका उनले अब दुई/चार दिनपछाडि बर्खे धान रोप्ने योजना बनाएका छन् । धान रोप्दा खेतमा खेताला होइन मेसिन कुद्छ ।
‘तीन वर्ष भयो मैले चैते र बर्खे धान रोप्दा मेसिन लगाउने गरेको छु । काट्दा पनि मेसिन नै प्रयोग हुन्छ । परालका लागि हो मान्छे लगाएर काट्ने । असारमा काट्दा पराल काम लाग्दैन, मेसिन लगाइहालिन्छ । हिउँदमा धान स्याहार्दा परालका लागि मेसिन नलगाउने भन्ने हो । मैले त मेसिन ने लगाउँछु,’ सत्यनारायणले भने । धान रोप्दा मान्छे लगाउने हो भने एक बिघामा १२ हजार रुपैयाँ ज्याला लाग्छ । खाना–खाजाको खर्च थप हुन्छ । ‘तर धान रोप्ने मेसिनले पाँच हजार रुपैयाँ तिरेर एक बिघामा रोपिन्छ,’ सत्यनारायणले सुनाए । मेसिनले रोप्दा मान्छेले रोपेको भन्दा डेढ गुनासम्म बढी फलेको उनको भनाइ छ । मेसिनले रोप्दा अलि ग्याप राखेर लाइन मिलाएर रोप्छ । हातले रोप्दा जस्तै धेरै बिरुवा पनि रोप्दैन । पानी र हावा खेल्न पाउने, मल खाद राम्रोसँग पुग्ने भएका कारण उत्पादन राम्रो हुने गरेको अनुभव उनीसँग छ । धानको बीउ पनि कम लाग्दछ ।
मानिस लगाएर धान रोप्दा एक हेक्टर अर्थात् डेढ बिघामा एक लाख २७ हजार रुपैयाँ खर्च हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाइ भरतपुरका कृषि अधिकृत तथा सूचना अधिकारी इन्द्र ढुंगानाले जनाए ।
धान र पराल बिक्री या सदुपयोग गर्दा यसबाट एक लाख ७१ हजार रुपैयाँ आम्दानी लिन सकिन्छ । तर मेसिनले रोप्दा खर्च कम, उत्पादन बढी हुने हुँदा आम्दानी पनि बढ्छ ।
मेसिनले रोपेको जमिनमा सरदर ३० प्रतिशत बढी धान फल्ने गरेको ढुंगानाले बताए । एक हेक्टरमा मेसिनले रोप्दा कम्तीमा पनि २३ हजार रुपैयाँसम्म बढी आम्दानी लिन सकिने उनको भनाइ छ । चितवनमा ६ वर्षयता धान रोप्ने मेसिनको अलि बढी प्रयोग सुरु भएको हो । सुरुवात नै भएको १० वर्षभन्दा बढी भएको उनले जनाए ।
तर धान रोप्ने मेसिनको प्रयोग ह्वात्तै बढ्न भने सकेको छैन । रत्ननगर नगरपालिका–६ बछौलीमा दुई, राप्ती नगरपालिका–१ गड्यौलीमा एउटा, खैरहनी नगरपालिका–१० कठारमा एउटा, खैरहनी–१३ कुमरोजमा एउटा र भरतपुर दिब्यनगरमा एउटा गरेर चितवनभर ६ वटा मात्रै धान रोप्ने मेसिन छन् । करिब दुई सय बिघा जमिनमा मात्रै मेसिनले धान रोप्ने गरिन्छ ।
खैरहनी–१३ गवईकी सुनिता भण्डारी मेसिनले रोपे सस्तो र उत्पादन राम्रो हुन्छ भन्ने सुनेकी छन् । ‘तर बीउ राख्दा ट्रेमा राख्नुपर्दछ रे, बीउ राख्ने माटो पनि फुरफुर हुने धुलौटे चाहिन्छ । बर्खाका बेलामा बीउ राख्न त्यस्तो धूलो माटो पाइँदैन । फेरि मेरो जग्गाको चार पाटा मिलेको ठूलो एरियाको पनि छैन । त्यसैले रोप्नलाई मान्छे नै लगाइन्छ,’ भण्डारीले भनिन् । तर काट्न मेसिन नै प्रयोग गर्ने गरेको उनले सुनाइन् ।
खैरहनी–१० कठारको महिला साना किसान कृषि सहकारी संस्थाले मेसिनले धान रोप्न चाहने किसानका लागि सहकारीको कार्यालय हाताभित्रै ट्रेमा बीउ राखेको छ । ‘हामीले १० बिघालाई पुग्ने बीउ राखेका छौं । मेसिनले रोप्न चाहने तर बीउ राख्न निपुण नभएका किसानका लागि हामीले ट्रेमा बीउ राखेका छौं, उहाँहरूले एउटा ट्रेको ५५ रुपैयाँ मूल्य तिरेर लैजानुहुन्छ,’ सहकारीका व्यवस्थापक पूर्णमाया अधिकारीले भनिन् ।
कठारका विमल चौधरी धान रोप्ने मेसिनका चालक हुन् । असार १५ पछाडि साउनको पहिलो सातासम्म भ्याइनभ्याइ हुने उनले बताए । ‘बिहान ६ बजे निस्केको रातको १० बजेसम्म खेतमै भइन्छ । चैते धान रोप्दा त अझ बढी दिन व्यस्त हुनुपर्दछ,’ विमलले भने । चितवनमा धान रोप्ने मेसिन कम भए पनि धान काट्ने ठूला मेसिन सयभन्दा बढी छन् । जिल्लाकै त कम छन् बाहिरी जिल्लाबाट आएर धान काट्ने मेसिन धेरै छन् ।
‘धान लगाउने क्षेत्रफलको तुलनामा मेसिनले रोप्ने क्षेत्रफल निकै कम छ । परम्परागत पद्धतिलाई छिट्टै त्याग्न पनि किसानले सक्दैनन् । अर्कोतर्फ किसान आफैंले किन्न मेसिन महँगो पनि छ । सस्तो भए प्रयोग बढ्थ्यो पनि,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ भरतपुरका प्रमुख महेश रेग्मीले भने । धान रोप्ने मेसिनको १८ लाख रुपैयाँ र काट्ने ठूलो मेसिनको ४० लाख रुपैयाँसम्म पर्दछ ।