बारा । बाराको कलैया स्थित रामराजा (मो.वि.शाह) बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याको विरोधमा आज शिक्षकहरुले कालोपट्टी बाँधेर विरोध जनाएका छन्। हत्यारालाई चाँडोभन्दा चाँडो कारवाहीको माग गर्दै शिक्षकहरुले विरोध स्वरुप कालोपट्टी बाँधेर कक्षा सञ्चालन गरेका छन्।
शिक्षक रामबहादुर पंडितका अनुसार, यो विरोध कार्यक्रम विद्यार्थीहरुको पठनपाठनमा असर नपर्ने तर हत्यारालाई छिटो कारवाहीको दबाब दिने उद्देश्यले आयोजित गरिएको हो। उनले भने, “हाम्रो उद्देश्य विद्यार्थीहरुको पढाईलाई असर नपु¥याईकन हत्यारालाई छिटो भन्दा छिटो कारवाहीको लागि दबाब सिर्जना गर्नु हो।”
गत जेष्ठ ३१ गते प्रधानाध्यापक कुश्वाहामाथि गोली प्रहार भएको थियो। आर्दशकोतवाल गाउँपालिका – २ खजुरियास्थित घरबाट कलैयातर्फ फर्कने क्रममा दुई मोटरसाइकलमा सवार चार जनाको अज्ञात समूहले कुश्वाहामाथि गोली प्रहार गरेको थियो, जसको कारण उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।
यस घटनाका दोषिलाई कारवाहीको माग गर्दै स्थानीयस्तरमा आन्दोलन पनि भएको थियो। प्रहरीको आश्वासनमा आन्दोलन स्थगित भएको भए तापनि शिक्षकहरुले दोषीलाई कडा कारवाहीको माग जारी राखेका छन्। घटनास्थलबाट प्राप्त भिडिओ ‘क्लिप’को आधारमा गाउँकै सुरेन्द्र कुश्वाहाले प्रधानाध्यापक कुश्वाहालाई गोली हानेको खुलेको छ।
प्रहरीले यस सम्बन्धमा अनुसन्धान जारी राखेको छ र दोषीलाई शीघ्र कानूनी कारवाही गरिने अपेक्षा गरिएको छ।