वीरगन्ज । नेपालको सबभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी “WorldLink” ले विश्व रक्तदाता दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। वीरगंजको घण्टाघर चोकमा भएको उक्त रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ।
यस प्रकारका कार्यक्रमले बीरगंज मात्र नभएर सम्पूर्ण देशमा रक्तदानको संस्कृतिलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसले रक्तदाताहरूलाई सम्मान गर्दै समाजमा रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन योगदान पुर्याएको छ। आयोजित रक्तदान कार्यक्रमले बजारमा भएको रक्त अभावलाई थोरै भए पनि पूर्ति गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
यस रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाको प्राविधिक सहयोग रहेको थियो। रक्तदान जस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरू आयोजना गर्दै आइरहेको WorldLink ले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
रक्तदानले जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने भएकाले यस्ता कार्यक्रमले जनचेतना बढाउन र रक्तदाताको संख्यामा वृद्धि गर्न मद्दत पुग्ने आशा गरिएको छ।