वीरगंज | जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुँदैछ। महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्नेछ।
महाधिवेशनको उद्घाटन दिउँसो १ बजे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम छ। महाधिवेशनमा देशभरबाट १३ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् भने एक लाख कार्यकर्ता पनि महाधिवेशनमा भाग लिनेछन्, जसपा नेपालले जनाएको छ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधिहरू र विभिन्न राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रहनेछ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने योजना रहेको छ। पार्टी विभाजनका कारण अध्यक्ष पदमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ। अध्यक्षबाहेक, महाधिवेशनमा सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७, कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्यहरू निर्वाचित हुनेछन्।