वीरगञ्ज । वीरगञ्जकी सनम श्रेष्ठ काजाकिस्तानका लागि प्रस्थान गरेकी छन् । २६औं एसियाली युथ चेस च्याम्पियनसिप २०२४ मा नेपाललाई प्रतिनिधित्व गर्दै सनम आइतवार बिहान काजाकिस्तानका लागि प्रस्थान गरेकी हुन् ।
सनम अध्ययनरत वीरगञ्जको मुनलाईट माद्यामिक विद्यालयका प्रबन्ध निर्देशक सुलभ केसी पनि काजाकिस्तान प्रस्थान गरेका हुन् । १८ वर्ष मुनीको उमेर समूहबाट सनमले विश्वभरीका ३५ भन्दा बढी देशका युवाहरुसँग प्रतिस्पर्धा गर्नेछिन् । उनले गत महिना वीररगञ्जमा सम्पन्न राष्ट्रिय चेस च्याम्पियनसिपमा स्वर्ण पदक जितेर अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।
आफुले धेरै अभ्यास गरेको हुँदा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सनमले प्रतिक्रिया दिएकी छिन् । ‘म अझै सिक्ने प्रक्रियामा छु । तर पनि यो सुनौलो अवसरलाई सदुपयोग गर्दै म भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय चेस प्रतियोगिताहरूमा भाग लिन चाहन्छु’, उनले गत वर्ष एक अन्तर–विद्यालय चेस च्याम्पियनसिपको सेमिफाइनलमा पुगेपछि भनेकी थिइन् । डेढ वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउँदा आफ्नो सपना साकार भएकोमा उनले खुशी व्यक्त गरिन् ।
श्रेष्ठ सामुदायिक संस्था सानो पाइलाको सुनिश्चित भविष्य परियोजना अन्तर्गत सञ्चालित बाल गृह सानो घरमा बस्छिन् । सानो घरले उनको पालनपोषणदेखि शिक्षादीक्षासम्मको व्यवस्था गर्दै आएको छ । उनी मुनलाईट माविमा कक्षा ९ मा अध्ययनरत छिन् ।
सानो पाईलाका कोषाध्यक्ष दिपेश सर्राफ, सुनौलो भविष्य परियोजना प्रमुख विवेक कर्ण लगायत सानो पाइलाका पदाधिकारीसँगै राष्ट्रिय बुद्धिचाल संघका पदाधिकारी पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।