वीरगञ्ज । मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि अब जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्ने देखिएको छ।
नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलहरूको गरी ५६ जनाको समर्थनमा जनमत पार्टीका संसदीय दलका नेता महेशकुमार यादवले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।
सत्ता गठबन्धनका तर्फबाट महेशकुमार यादवले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधवार बेलुकी नयाँ सरकार गठन गर्न आह्वान गरेपछि दाबी पेश गर्ने तयारी भएको हो।
नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराईका अनुसार, गठबन्धनमा रहेका चार दलका साथै एक स्वतन्त्र र एक संघीय समाजवादी पार्टीका सांसदले पनि समर्थन गर्नेछन्।
जनमतका नेताहरूका अनुसार, महेशकुमार यादव मुख्यमन्त्री भएपछि माओवादी केन्द्रले आर्थिक मामिला मन्त्रालय पाउने भएको छ। अन्य मन्त्रालयहरू एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टीलाई दिने योजना रहेको एक नेताले बताएका छन्।