वीरगंज | तराई–मधेसका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म अझै जारी रहने मौसमविदले बताएका छन् ।
मौसमविद बिनु महर्जनका अनुसार मधेस , सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै तीन दिन सम्म गर्मी बढ्नेछ ।मधेस,सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लामा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी नै मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
मौसमविद महर्जनले भनिन्, ‘यसअघि जेठ १३ गतेदेखि १५ गतेसम्म पनि हिट वेभको पूर्वानुमान सार्वजनिक गरेका थियौं । त्यसैअनुसार भयो पनि । अहिले फेरि थप तीन दिन तातो हावाको लहर चल्ने सम्भावना छ ।’
तराई–मधेसका जिल्लाा तत्काल पानी पर्ने सम्भावना नभएकाले गर्मी बढ्ने गरेको छ ।बंगालको खाडीमा विकसित रेमल चक्रवातको अप्रत्यक्ष असरको कारण नेपालको पूर्वी र मध्य भागमा वर्षा भएको थियो । यो चक्रवातको नेपालको पूर्वी भूभाग भन्दा पनि अझै पूर्व भारतको मेघालय आसपास कमजोर अवस्थामा छ । त्यसको असरले नेपालका कोशी प्रदेशमा सामान्य वर्षाको सम्भावना कायम छ ।