वीरगंज | मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल संघीयता विरोधी भएको बताएका छन्।
सोमबार आ.व २०८०/८१ को स्थानीय तहलाई दिने ससर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तर रोक्न माग गर्दै चार दलले ध्यानाकर्षण पत्र बुझाएपछि मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरूसँग उक्त प्रतिक्रिया जनाएका हुन्।
नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीलाई पत्र बुझाएका थिए।
‘पहिला हामी केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौं। उहाँ त भन्दै हुनुहुन्थ्यो कि मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ,’ उनले भने, ‘तर प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला थिए। तर अहिले संघीयताको घोर विरोधी प्रचण्ड हुन्। प्रचण्डले संघीयता चाहेकै छैनन्।’
संघीयता चाहेको भए उनले ओली र लामिछानेसँग मिलेर सरकार नबनाउने उनले बताए।