वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा महिला कर्मचारीमाथि दुर्व्यवहारको घटना बढ्दै गएको छ ।
तीन महिना अगाडि कालिकामाई गाउँपालिका वडा नम्बर १ मुर्लिस्थित एक शिक्षिकामाथि गरिएको दुर्व्यवहारको घटना सेलाउन नपाउँदै पुनः अर्को घटना दोहरिएको छ ।
कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरंचीबर्वामा रहेको स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीले एक स्वास्थ्यकर्मी महिलासँग दुर्व्यवहार गरेको घटनाको खुलासा भएको छ ।
आइतबार दिउँसो कार्यालय सहयोगी मेघराज महतो केवटले एक महिला स्वास्थ्यकर्मीसँग दुर्व्यवहार गरेपछि पीडितलाई जोगाउन स्थानीय जनप्रतिनिधि तथा जनस्वास्थ्य कार्यालय प्रमुख लागेको आरोप लागेको छ ।
कार्यालय सहयोगी एवम् कार्यालय प्रमुख रामेश्वर कोइरी समेतले महिला कर्मचारीसँग दुर्व्यवहार गरेको आरोप लागेको वडा सदस्य राउत करले बताए ।
आइतबार कार्यालय सहयोगी मेघराज महतोले एक महिला स्वास्थ्यकर्मीसँग कार्यालयमा दुर्व्यवहार घटनाको बारेमा बताउँदै कार्यालय प्रमुख कोइरीले पनि एक महिला नर्सलाई गलत नियतले सधैँ स्पर्श गर्ने गरेको आरोप लगाए ।
दुवै घटनाको बारेमा वडाध्यक्ष जयनारायण कुर्मी र नगर प्रमुख वसिष्ठ गुप्तालाई जानकारी भइसकेको बताउँदै उनले भने, ‘पीडित कार्यालय सहयोगी वडा जयनारायण कुर्मको अध्यक्ष मान्छे भएको कारण बचाउने काम भइरहेको छ, जनस्वास्थ्य प्रमुखमाथि पनि आरोप लागेको छ दुवै जना मिलेर पीडित दुवै महिलाहरूलाई सरुवा गराएर घटनालाई दबाउन लागि परेका छन् ।’ तर स्थानीय जनतामा व्यापक आक्रोश छ ।
कार्यालय प्रमुख रामेश्वर कोइरीले घरमा विवाह पूजाको कारण मङ्गलवारदेखि बिदामा रहेको बताउँदै जनप्रतिनिधिहरूसँग घटनाको छानबिन गरी अगाडि बढ्ने बताए । उनीमाथि नै लागको आरोपको बारेमा उनी बोल्न चाहेनन् ।