बारा । जीतपुर सिमरा उपमहानगर–३, बझनीका लालबहादुर पाण्डेको घर भत्काएको घटनामा संग्लनलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयबासी र पाण्डे परिवारले सडक अवरुद्ध गरेका छन् ।
गत साउन ९ गते मध्यरातमा जग्गा कारोबारी तथा होटेल व्यवसायी इच्छाबहादुर वाग्लेका छोरा मन्सुन वाग्लेको नेतृत्वमा पाण्डे परिवारको भत्काइएको थियो ।
सो घटनामा हालसम्म न्याय नपाएको भन्दै स्थानीय र पाण्डे परिवारले आइतबार साँझ पथलैया–वीरगन्ज औधेगिक करिडोर केही क्षण अवरुद्ध गरेका हुन् ।
प्रहरीले सो घटनाको अनुसन्धानको क्रममा सिसी क्यामरा फुटेजमा वाग्लेका छोरा मन्सुन वाग्लेको नेतृत्वमा मध्यरातमा टिपर लगाएर पाण्डेको घर भत्काएको भिडियो सार्वजनिक गरेको थियो ।
साउन ९ गते राति भएको घटनामा प्रहरीले अम्लेखगञ्ज, पथलैया, जीतपुर र परवानीपुरसम्मका सीसी क्यामेरामा कैद भएको फुटेज अध्ययन गरेको थियो । घटना हुनुभन्दा केही समय अघि पथलैयाबाट पहेलो रङको आइचर कम्पनीको टिपर निस्किएको र टिपरको पछिपछि एउटा स्कुटर र इच्छाबहादुर वाग्लेको गाडी उनकै छोरा मन्सुन वाग्लेले चलाएको फुटेज भेटिएको थियो ।
सो घटना लगत्तै पाण्डे परिवारले इच्छाबहादुर वाग्लेको नाममा किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय सिमराका तत्कालीन प्रमुख प्रदीप बहादुर क्षेत्रीले पाण्डेको घर भत्काउने कार्यमा संलग्न ८ जनामध्ये ४ जनालाई तत्कालै पक्राउ गरेका थिए भने मन्सुन वाग्ले सहित ४ जना पछि जिल्ला अदालत बारामा उपस्थित भएर धरौटीमा छुटेका हुन् ।
‘१० महिनायता हामी ५० औ पटक जिल्ला अदालत धाइरहेका छौ, कुनै सुनुवाइ नभएकोले हामीले बाध्य भएर सडक अवरुद्ध गरेका हौ’ पिडित परिवारका सदस्य प्रवीण पाण्डेले भने ‘अव हामी चुप बस्दैनौ न्यायका लागि गृह मन्त्रालयसम्म जान्छौ ।’
पछिल्लो समय इच्छाबहादुर वाग्लेले पाण्डे परिवार विरुद्ध जिल्ला र उच्च अदालतमा आधा दर्जन मुद्दा दर्ता गरेको छन् । वाग्लेले पाण्डेको घर आफ्नो जग्गामा पर्ने दाबी गर्दै मुद्दा दायर गरेका छन् । तर पाण्डेको जग्गासँगै मनोज चिमोरियाको जग्गा जोडिएको छ भने चिमोरियाको सँगै वाग्लेको प्लटिङ छ ।
‘हामी न्याय र क्षतिपूर्तिको लागि धेरै पटक अदालत र सरकारी वकिल कहाँ धाइसक्यौ तर अहिलेसम्म कुनै सुनवाइ भएको छैन’ पाण्डेले भने ‘कोही मान्छे पैसावाला छ भनेर गरिबलाई दबाउन पाईदैन्, हामीलाई न्याय चाहियो ।’
पाण्डेको घरछेउमै वाग्लेको प्लटिङ भएकाले २०६८ सालदेखि विवाद हुँदै आएको पाण्डेको भनाइ छ । जग्गा किचलोको विषयलाई लिएर बारा जिल्ला अदालतमा पुरानो मुद्दा विचाराधीन अवस्थामा छ ।