वीरगंज | कांग्रेससहितको विपक्षी दलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको टीओआरमा सहमति नभएसम्म बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गरेका छन्।
आइतबार बिहान बसेको विपक्षी दलको बैठकले छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुख देवराज घिमिरेलाई विपक्षीको तर्फबाट सांसद ज्ञानबहादुर शाहीले आग्रह गरेका हुन्। संसद सचिवालयका अनुसार विपक्षी बैठकपछि निर्णय सुनाउन शाही सभामुखको कार्यकक्षमा गएका थिए।
कार्यदलमा सहमति गर्न सहयोग मागेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक सिंहदरबार पुगेका छन्। सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय दलको गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। कानुन मन्त्रालयमा जारी बैठकले संसदीय समितिको कार्यादेश बनाउने बताइएको छ।
सत्ता पक्ष र विपक्ष सहमत नहुँदा बैठक तत्कालका लागि अनिश्चित भएको छ। आज बिहान ११ बजे संसद् बैठक बोलाएपनि हाल सम्म बस्न सकेको छैन।
यस अगाडि आज बिहान बसेको विपक्षी दलको बैठकले उपप्रधान एवं गृहमन्त्री रव लामिछानेलाई प्रतिनिधिसभा बैठकमा बोल्ने दिने निर्णय गरेको छ। राप्रपाका सांसद शाहीले गृहमन्त्री लामिछानेलाई बोल्न दिन विपक्षी दल सहमत भएको जानकारी दिए। गृहमन्त्रीले बोलिसकेपछि प्रतिपक्षी दलको तर्फबाट सभामुखसँग समय माग्ने र कांग्रेसले बोल्ने निर्णय भएको थियो।