वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रम समेटेर वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।
शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलाप समेटेर शैक्षिक क्यालेन्डर निकालेको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताए ।
नयाँ शैक्षिक सत्र २०८१ को लागि शैक्षिक क्यालेन्डर ल्याउने बिन्दबासिनी गाउँपालिका पर्साको दोश्रो स्थानिय तह भएको छ भने गाउँपालिका मध्ये पहिलो गाउँपालिका भएको छ । यस अघि पर्साको १४ स्थानिय तह मध्ये वीरगंज महानगरपालिकाले शैक्षिक क्यालेण्डर सार्वजिक गरी पहिलो स्थानिय तह भएको छ भने बिन्दबासिनी गाउँपालिका दोश्रो बनेको छ ।
शैक्षिक गुणस्तर उकास्न र शैक्षिक सुशासन कायम राख्न तथा सम्पूर्ण सामुदायिक विधालयहरुको शैक्षिक गतिविधिहरुमा एकरुपता ल्याउन शैक्षिक क्यालेन्डर ल्याइएको शिक्षा प्रमुख कपिल लामिछानेले बताए ।
बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम र पालिका भित्रका विद्यालयको तस्वीर र विभिन्न शिक्षा सम्बन्धी जानकारी समेटिएको शैक्षिक क्यालेण्डर सार्वजिक गरिएको उनले बताए ।
विद्यालयको कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न सजिलो बनाउन क्यालेन्डर बनाएको गाउँपालिकाले जनाएको छ ।