वीरगन्ज | वीरगन्जका स्कूले विद्यार्थीहरुसंग ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गरिएको छ ।जिल्ला ट्रापिक प्रहरी कार्यालय पर्सा र व्यवस्थित वीरगन्ज अभियानले संयुक्त रुपमा सचेतना कार्यक्रमको गरेको हो ।
कक्षा १०, ११ र १२ मा अध्ययनरत करिब एक सय जना विद्यार्थीहरु सहभागी कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले सवारी दुर्घटना नियन्त्रणका लागि विद्यार्थी सचेत हुनुपर्नेमा जोड दिए । विद्यार्थीले आफ्ना अभिभावकसँगै आफुले चिनेका व्यक्तिहरुलाई सचेत गराउन सकेमा ट्राफिक सचेतना प्रभावकारी हुने र यसबाट सवारी दुर्घटना नियन्त्रणमा सघाउ पुग्ने उनको भनाइ थियो ।
सवारी चालक मात्रै नभएर पैदल यात्रु पनि दुर्घटनामा पर्ने गरेको बताउँदै उनले सुरक्षित तवरले यात्रा गर्नका लागि ट्राफिक सचेतनाको आवश्यक्ता औँल्याए । सवारी दुर्घटनाका कारण समावेश गरिएको भिडियो सामग्री पनि उनले विद्यार्थीहरुलाई देखाएका थिए ।
कार्यक्रममा व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलीपराज कार्कीले विद्यालय तहबाटै ट्राफिक सचेतनाको थालनी गरिएको बताए । उनकाअनुसार सामुदायिक विद्यालयमा यसअघि नै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएकोमा त्यसैलाई निरन्तरता दिदै बुधबार डिएभी आरबी केडिया स्कुलमा प्रशिक्षण दिइएको कार्कीले बताए ।
प्रधानाध्यापक राकेश मिश्रले हरेक वर्ष ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सचेत बनाउँदै आएको जानकारी गराए । विद्यालय तहबाटै सचेत बनाएमा परिवर्तन सम्भव हुने मिश्रको भनाई छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले ट्राफिक नियमको पालना गर्ने र गराउने प्रतिबद्धता जनाउदै आफ्ना अभिभावकले हेल्मेट नलगाएमा वा मादक पदार्थ सेवन गरेमा सवारी साधनमा नचढ्ने प्रतिबद्धता पनि जनाएको विद्यालयका शिक्षक प्रकाश कर्णले जानकारी दिए ।