सवारी दुर्घटनामा परेर काभ्रेमा ३ जनाको मृत्यु, ३ जना घाइते
वीरगंज संजाल
२४ पुष २०७६, बिहीबार १६:०६
४६९३
बनेपा | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ र रोशी गाउँपालिका–९ मा भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान पनौती नगरपालिका–११ थुम्कीस्थित भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्कबाट ख्याकु जाने मोटरबाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए ।
मुत्यु हुनेमा पनौती नगरपालिका–११ का १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भई हाल पनौती नगरपालिका–११ स्थित दिदीको घरमा बस्दै आएका १५ वर्षीय रोशन भण्डारी रहेका छन् ।
सो घटनामा परी पनौती–७ का स्काभेटर चालक २७ वर्षीय जीवन ताम्राकार घाइते भएको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट अन्दाजी ३०० मिटर तल सलान्दुखोलामा खसेको थियो ।
त्यस्तै, बिहीबार बिहान नै रोशी गाउँपालिका–९ स्थित देउरालीबाट नार्केतर्फ आउँदै गरेको दूध बोकेको बा५च ५०७४ नम्बरको गाडी सवारी पानाञ्चेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–९ का १२ वर्षीय अनिल रानामगर रहेको प्रहरीले जनाएको छ ।
उनको उपचारका लागि धुलिखेल अस्पताल लगिएकामा अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक धर्मजङ्ग थिङले बताए । सो घटनामा परी सोही ठाउँका सतीकुमारी पीठाकोटे र चालक टङ्कमान लामा घाइते भएकोे प्रहरीले जनाएको छ । nepalpostdaily