वीरगंज । ऐतिहासिक कमलपोखरी माँसेर निर्माण गरिएको छायाँ सेन्टरबारे संयुक्तराष्ट्रसंघले गम्भीर चासो देखाएको छ । राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्च आयुक्तको कार्यालय जेनेभाले मंगलबार विज्ञप्ति जारी गरी छायाँ सेन्टर ऐतिहासिक पोखरी माँसेर निर्माण गरिएको र त्यसको विरोधमा आवाज उठाउने अभियन्ताहरुको सुरक्षा खतराप्रति चिन्ता व्यक्त गरेको हो ।
राष्ट्रसंघको विज्ञप्ति (विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस्) मा ठमेलको छायाँ सेन्टरको निर्माणले ऐतिहासिक कमलपोखरी र आदिवासी प्रधान नेवार समुदायको दैनिक संस्कार र सांस्कृतिक अभ्यासलाई ध्वस्त पार्न खोजेको र त्यसलाई पुर्नजिवित गर्न भागवत नरसिंह प्रधानले अभियान चलाएकोमा उनीमाथि धम्की र सुरक्षा खतरा पुर्याउन क्रियाकलाप भएकोमा आपत्ति जनाएको छ ।
लिच्छविकालीन पोखरीलाई पुर्नजिवित गर्न लागेका प्रधानले धम्की, घरमा पुगेर छायाँ सेन्टरका ट्रेड युनीयनका नेताहरु पुगेर धम्क्याउन खोजेको विषय पनि विज्ञप्तिमा उल्लेख छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले प्रधानलगायत अभियन्तालाई धम्की दिनुलाई उनको सुरक्षामा खतरा देखिएको समेत भनिएको छ ।
अमेरिकी कम्पनी मेरियट इन्टरनेशनल होटल पनि छायाँ सेन्टरमा रहेकाले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म होटलका सम्पूर्ण गतिविधि रोक्न पनि राष्ट्रसंघले सुझाव दिएको छ । उक्त होटललाई अभियन्ताहरुको सुरक्षामा खतरा पुर्याउने छायाँ सेन्टरको गतिविधिमा प्रयोग नहुन पनि भनिएको छ ।
सर्वोच्च अदालतले कमलपोखरीको २६ रोपनी भन्दा बढी जग्गा खोज्न आदेश दिएसँगै छायाँ सेन्टरबारे राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको छ ।
विश्वस्त स्रोतका अनुसार छायाँ कम्प्लेक्स भत्काउने ऐतिहासिक आदेश सर्वोच्च अदालतले चाँडै दिने भएको छ । आदेश रोक्न अनेकन चलखेल भएपनि सर्वोच्च अदालतको नेतृत्व डगमग नभएको बुझिएको छ ।