वीरगंज | कलैया सडकखण्डको नौतन बहुअरीमा कारले ठक्कर दिंदा एकजना बालिकाको मृत्यु भएको छ । बारा, परवानीपुर गाउँपालिका–५ नौतन बस्ने ऋषिमुनि कानूकी छ वर्षीया छोरी प्रीतिकुमारी साह (कजरी)को मृत्यु भएको हो ।
दिउँसो २ बजे कलैयाबाट वीरगंज गइरहेको बिएल १ सिएस २३६० भारतीय नम्बरको कारले ठक्कर दिएपछि अचेत भएकी बालिकाको उपचारको लागि एलएस न्युरो अस्पताल, बहुअरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि केहीबेर गाउँलेहरूले सडकमा चक्काजाम गर्ने प्रयास गरेका थिए । प्रहरीले बल प्रयोग गरी आवागमन सुचारु गराएको थियो ।
कारमा सवार बारा, सिम्रौनगढ नगरपालिका–९ बसवरिया बस्ने ३७ वर्षीय मुकेशप्रसाद यादव र भारत, बिहार, मोतिहारी भदहज बस्ने २७ वर्षीय मनीषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । दुवैजनाको हात र शरीरमा चोटपटक लागेको छ ।
यी दुवैमा कारचालक को हो भन्नेबारे प्रहरीले यकीन बताएको छैन । बालिकाको शव अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय, नौतनको टोलीले दुवैजनालाई नियन्त्रणमा राखेको छ ।