वीरगंजमा हुण्डी कारोबारको आशंकामा १३ लाख रुपैयाँ नगदसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन्। उनको साथबाट १३ लाख २५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महनगरपालिका-१४ गण्डकस्थित सडकमा वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २–०३ –०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
त्यसक्रममा उक्त मोटरसाइकलमा सवार पटेलले बोकेको झोलाबाट नेपाली १ हजार दरको नोट थान ८ सय ८९ थान, ५ सय दरको नोट ८ सय ५० थान र १ सय दरको नोट १० थान गरी कूल १३ लाख २५ हजार रुपैयाँ भेटिएको र उक्त रकमको श्रोत खुलाउन नसकेकाले रकमसहित पटेललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनु भयो।
साथै पटेलको सातबाट विभिन्न बैंकको खाली चेक ७ थान पनि बरामद भएको बताइएको छ। पटेलको साथबाट बरामद रकम हुण्डीको रहेको प्रहरीको आशंका छ। पटेललाई प्रहरी हिरासतमा राखेर उनी विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।