बाराको सिमरौनगढमा पोखरी खन्ने क्रममा भगवान ब्रह्माको मूर्ति फेला परेको छ। सिमरौनगढको वडा नम्बर १ मा पर्ने नसागराढाट भन्ने ठाउँमा आइतबार साँझ मूर्ति फेला परेको स्थानीय रञ्जित कुशवाहाले बताए।
‘डोजर लगाएर पोखरी खन्ने क्रममा ब्रह्माको मूर्ति फेला परेको हो। मूर्ति निकाल्दा यसको अनुहार र पेटमा चोट लागेको छ,’ उनले भने, ‘अहिले यो मूर्तिलाई भेटिएकै ठाउँ नजिक राखिएको छ। सरोकारवाला निकायले यसको संरक्षणमा विशेष ध्यान पुर्याउन जरूरी छ।’
यो मूर्तिको विशेषता के हो भने मूर्तिको अघिल्लो भागमा मात्र होइन, पछिल्लो भागमा पनि ब्रह्माको आकृति कुँदिएको छ। अघिल्लो भागमा दुई देवीहरूको बीच तीन वटा टाउका भएका ब्रह्मा छन् भने पछिल्लो भागमा ब्रह्माको एउटा टाउको देख्न सकिन्छ।
पौराणिक कथाअनुसार ब्रह्माको पाँच टाउको भएकाे मानिन्छ। त्यसमध्ये, एउटा टाउको भगवान शिवले ब्रह्मामा बढेको घमण्ड तोड्न काटेका थिए। ब्रह्माका चार टाउकालाई चार वेद र चार वर्णसँग पनि तुलना गरिन्छ।
ब्रह्माको मूर्ति बनाउँदा प्राय: कलाकारले अगाडिबाट देखिने तीन वटा टाउका मात्र बनाउँछन्। सिमरौनगढमा भेटिएको यो मूर्तिमा भने कलाकारले आफ्नो सीप उपयोग गर्दै चार टाउको बनाएको देख्न सकिन्छ। यो मूर्ति करिब ४ फिट अग्लो भएको रञ्जित बताउँछन्।
Laxmi bank
सिमरौनगढमा यसअघि पोखरी खन्ने क्रममा हरिहरपूरमा भगवान विष्णुको मूर्ति फेला परेको थियो। रञ्जितका अनुसार गएको ६ वर्षमा पोखरी खन्दा भेटिएको यो १३ औं मूर्ति हो।
सिमरौनगढ यस्तो ठाउँ हो, जहाँ कुनै पनि ठाउँ खन्दा केही न केही पुरातात्विक सामग्री फेला पर्छ। त्यही भएकाले यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ। उक्त नियमको कार्यान्वयन भने भएको छैन।
‘प्राचीन स्मारक ऐन २०१३ र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सिमरौनगढ क्षेत्र तुरून्तै सुरक्षित क्षेत्र घोषणा गरेर खनजोत तत्कालै प्रतिबन्ध गर्नुपर्ने आवश्यकता भइसक्यो,’ रञ्जितले भने, ‘अहिलेसम्म भेटिएका सम्पदालाई संरक्षण गर्न पनि जरूरी छ।’
सिमरौनगढमा फेला परेको यो दोस्रो ब्रह्माको मूर्ति हो। यसअघि फेला परेको ब्रह्माको मूर्ति छाउनी संग्रहालयमा राखिएको छ। यो मूर्तिलाई पनि संरक्षण गर्न उनीहरूले पुरातत्व विभागलाई पत्र लेखेका छन्। यसलाई सिमरौगढमै संग्रहालय बनाएर वा मूर्ति भेटिएकै ठाउँमा सुरक्षा व्यवस्था मिलाएर संरक्षण गर्नुपर्ने उनीहरूको माग छ।