वीरगंज | मधेश प्रदेशमा माओवादी संसदीय दलका नेता भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
गत वैशाख ६ गते बिनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले वन मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।
मन्त्री नियुक्त गरेकै बेला साहलाई मुख्यमन्त्रीले वन मन्त्रालय लिन प्रस्ताव गरेका थिए। लोकतान्त्रिक समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि उक्त मन्त्रालय मुख्यमन्त्रीले आफूसँग राखेका थिए ।
तर मन्त्री साहले उक्त मन्त्रालय लिन अस्वीकार गर्दै आएका थिए। जसपा नेता सञ्जयकुमार यादवले सम्हालेको अर्थ मन्त्रालय आफुले पाउनुपर्ने उनले अडान राखेका थिए ।
मन्त्री साहले चौथो पटक विश्वासको मत लिनुअघि मुख्यमन्त्रीले आफुलाई अर्थ मन्त्रालय दिने आश्वासन दिएको बताउँदै आएका थिए।
तर पछि मुख्यमन्त्रीले ढाँटेको मन्त्री साहले केहीदिनअघि संचारकर्मीसँग गुनासो पोखेका थिए।