दुई दिन रोकिएको हिमपात र वर्षा फेरि शुरू, चिसाेबाट सतर्क रहन आग्रह
वीरगंज संजाल
२२ पुष २०७६, मंगलवार १५:०७
१८४१
काठमाडाैँ | माैसमी प्रणालीमा बदलाव भएसँगै दुई दिन रोकिएको हिमपात र वर्षा फेरि शुरू भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न स्थानमा हिमपात र वर्षा शुरू भइसकेको मौसमविद्ले बताएका छन् । यसअघि पनि काश्मिरबाट नेपाल भित्रिएकाे पश्चिमी न्यूनचापीय प्रणालीकै कारणा झन्डै पाँच दिनसम्म हिमपात तथा वर्षा हुँदा देशभरजसो जनजीवन कष्टकर भएको थियो ।
साे माेसमी प्रणाली बाहिरिएपछि हिमपात र वर्षा रोकिएर आइतबार र सोमबार २ दिन देशभर सामान्यतया मौसम सफा रहकाे थियाे भने धेरैजसो ठाउँमा घाम लागेको थियो । तर सोमबार दिउँसो पुनः पश्चिमी न्यूनचापीय वायु नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साे वायु प्रणालीका कारण पश्चिमी क्षेत्रमा हिजाे साेमबार बेलुकादेखि नै यसको प्रभाव सुरु भइसकेको छ । दिपायललगायत आसपासका क्षेत्रमा अहिले पनि वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।
अहिले विशेषगरी पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सुरु भएको भए पनि यो प्रणाली बिस्तारै पूर्व सर्ने र मध्य तथा पूर्वी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा पनि हिमपात हुने जनाइएकाे छ । आजलाई मध्य र पूर्वी क्षेत्रमा वर्षाको सम्भावना भने नरहेको बताइएको छ । भोलि मध्य र पूर्वमा पनि वर्षाको सम्भावना अलि बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएसँगै वर्षा र हिमपातको समभावना रहेकाे र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन सबैमा अनुरोध समेत गरेको छ । Nepalpostdaily