दुर्घटनामा परेर काँग्रेस महासमिति सदस्य रायको मृत्यु
वीरगंज संजाल
२२ पुष २०७६, मंगलवार १३:०८
२६८७
बर्दिबास । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ ।
महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय काँग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । काठमाडौँबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठोकिएर बस दुर्घटना भएको थियो ।
आज बिहान ५ः०० बजे भएको सो दुर्घटनामा परी नेता राय गम्भीर घाइते भएर उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट उहाँलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पुर्याइएको र सो अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ः०० बजेतिर चिकित्सकले मृत घोषणा गरेको आफन्त असिम दुबेले बताउनुभयो ।
नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका उम्मेदवार रहनुभएको थियो भने उहाँले प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
त्यसैगरी सोही दुर्घटनामा परी १८ जना अन्य काँग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घाइते भएका छन् भने उनीहरुको उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । News 24