वीरगन्ज | विश्व स्वास्थ्य दिवसको अवसरमा सानो पाइलाले जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ ।वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय परिसरमै आयोजित शिविरमा १सय २० जना प्रहरीको थाइराइड परीक्षण गरिएको छ । एजिलस् ल्याबरोटरीसँगको सहकार्यमा उक्त शिविरको आयोजना गरिएको थियो ।
कार्यव्यस्तता, जानकारीको अभाव, हतार र बाध्यात्मक खानपान लगायतका कारणले प्रहरीहरूमा थाइराइडको समस्या हुनसक्ने जोखिम धेरै रहने भएकाले त्यसैलाई मध्यनजर गरी शिविरको आयोजना गरिएको सानो पाइलाका हेल्थ सर्भिसेजका संयोजक डा. राकेश कुमार झाले बताए ।जनताको सुरक्षार्थ खटिने प्रहरीहरूलाई थाइराइड सम्बन्धी जानकारी दिन तथा रोग लागेको भए उपचार विधिमा सामेल गराउन परीक्षण गरिएकोपनि उनले बताए।
‘निरन्तर काममा खटिनुपर्दा प्रहरी कर्मचारीहरूमा आरामको सम्भावना न्यून हुन्छ। थला नै नपर्दासम्म स्वास्थ्य परीक्षण गराउने वातावरण पनि भइदिँदैन। जसले गर्दा थइराइड रोगले च्याप्ने सम्भावना प्रहरीमा धेरै हुन्छ।’, डा. झाले भने, ‘ त्यसैले रोग जटिल भइ समस्या नआओस् भन्नका खातिर समयमै थाइराइडको परीक्षण र उपचार गर्नु जरूरी हुन्छ। ’
पर्सा प्रहरी प्रमुख कुमोध ढुगेंलले प्रहरीहरूको आवश्यकता र अवस्थाबारे चासो राखेर निशुल्क थाइराइड परीक्षण गरेकोमा आयोजकहरूप्रति आभार व्यक्त गरेका थिए ।