वीरगंज | पुरस्कार राशि घटाएर आठौं संस्करणको विराट गोल्ड कप फूटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदै छ।
अघिल्लो वर्षको तुलनामा पुरस्कार राशिमा नौ लाख १५ हजार रुपैयाँ घटाइएको छ। गत वर्ष २० लाख १५ हजार रुपैयाँ रहेको गोल्ड कपको प्रथम पुरस्कार यस वर्ष ११ लाख रुपैयाँ मात्रै बनाइएको छ।
त्यस्तै, गत वर्ष उपविजेतालाई १० लाख ५१ हजार रुपैयाँ दिइएको पुरस्कार यस वर्ष पाँच लाख ५० हजारमा झारिएको छ। आयोजकले पुरस्कार राशि घटाउनुको कारण आर्थिक मन्दीलाई देखाएको छ। विराट गोल्ड कप फूटबल ट्रस्टका अध्यक्ष किशोर शाहीले सबैतिर आर्थिक मन्दी भएकाले पुरस्कारको रकम घटाउनुपरेको बताए।
आयोजक समिति बनाएर सञ्चालन गरिंदै आएको प्रतियोगिता यस वर्ष ट्रस्टले नै सञ्चालन गर्दै छ। आयोजक समितिमा व्यावसायिक क्षेत्रका व्यक्तिलाई राख्ने गरिएको थियो।
विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगिताका लागि आयोजकका तर्फबाट सांग्रिला मोरङ फूटबल एशोसिएशन सहित १० वटा टीमले प्रतिस्पर्धा गर्ने जनाइएको छ। आठौं संस्करणको विराट गोल्ड कप आजदेखि शुरू हुँदै छ।
प्रतियोगितामा भारतको कोलकातास्थित साउदर्न समिति फूटबल संघ, सिक्किमको सिक्किम ड्रागन फूटबल क्लब र भूटानको थिम्पुस्थित आरटीसी फूटबल क्लब पनि सहभागी हुनेछन्। विभागीय टीमहरू नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी फूलबल क्लब र त्रिभुवन आर्मी फूटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। यससँगै मच्छिन्द्र फूटबल क्लब, एनआरटी क्लब र चर्च ब्वाइज फूटबल क्लब पनि प्रतियोगितामा सामेल हुँदै छन्।
२०१८ सालमा स्थापना भएको महेन्द्र गोल्ड कपको नाम परिवर्तन गरेर विराट गोल्ड कप राखिएको हो। स्थापनाकालदेखि यस पटकसम्म ट्रस्टले ६२औं पटक प्रतियोगिताको आयोजना गर्दै छ। प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले २५ लाख रुपैयाँ दिने प्रतिबद्धता गरेको जनाइएको छ।
त्यस्तै, विराटनगर महानगरपालिकाबाट १२ लाख र राष्ट्रिय खेलकूद परिषद्बाट पाँच लाख रुपैयाँ प्राप्त हुने आयोजक ट्रस्टका अध्यक्ष शाहीले बताए। प्रतियोगिता सम्पन्न गर्न एक करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने अनुमान छ।
प्रतियोगिताको उद्घाटन खेल महेन्द्र पुलिस क्लब र भूटानको आरसीटी एफसीबीच हुँदै छ। खेलमा २०० रुपैयाँ प्रवेश शुल्क राखिएको छ।