वीरगंज । धनुषामा एकाबिहानै भारतीय नम्बर प्लेट भएको कारको ठक्करले एकजनाको मृत्यु भएको छ । बिहान करिब सबा ६ बजेको समयमा भारतीय कारले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी रञ्जन अवाले जानकारी दिएको छ ।
उनले मृत्यु हुनेमा मोटरसाईकल चालक महोत्तरी लोहरपट्टी नगरपालिका ४ का अन्दाजी २५ वर्षीय रामबाबु साह रहेको जानकारी दिनुभएको छ । उनका अनुसार लक्ष्मीनिया गाउँपालिका ६ लक्ष्मीनिया बजार नजिकै भएको उक्त दुर्घटनमा परेको साहको सेन्ट्रल अस्पतालमा उपचारको क्रममा करिब ७ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।
बिहान जनकपुरधाम ढल्केवर सडकखण्डमा ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको डी.एल.१२सी ०९४४ भारतीय नम्बर प्लेटको कारले पछाडिबाट ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए ।
मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुर्घटना लगतै कार चालक फरार भएको र पहिचान भईसकेको उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।