वीरगंज | बुधबार बिहानैदेखि चलेको हावाहुरी र बर्षामा जटिल समय व्यतित गरेका परिक्रमाका धार्मिक लस्कर आज धनुषाको औरही प्रस्थान गरेका छन् ।
बुधबार धनुषाको सप्तपोखर (सतोषर) विश्राम गर्न गएपनि बर्षा र हावाहुरीले विश्राम जटिल बनाएको थियो । विहिबार (आज) विहानसम्म बर्षाले सताएपनि आस्थाको कारण धार्मिक लस्कर अर्को पडावको लागि प्रस्थान गरेको हो । आज मौसम हल्का सफा देखिएपनि बर्षाको भने केही सम्भावना रहेको छ ।
गर्मी बढेपछि यात्रीहरु चिसोका कपडाहरु नलिई सामान्य कपडा लिएर परिक्रमा गएका थिए तर, बुधबार पानी परेपछि उनीहरुलाई समस्या भोग्नु परेको छ । औरही र सतोखरमा मौसम अनुकुल नभए पनि स्थानीयहरुको स्वागतले यात्रीहरु तातिएका थिए । यात्रीहरु बिहीबार औरही बाट भारतको करुणा, विसौल र कल्याणेश्वर हुँदै फागु पूर्णिमाको पूर्व सन्ध्यामा पुनः जनकपुरधाम फर्केर अन्तर गृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने छ ।
मिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका सयौं यात्रीहरु घरबाटै भोजन र आवासको व्यवस्था सहित सहभागी हुने गरेका छन् । यात्रामा सहभागी हुँदा मोक्षको प्राप्ति हुने जनविश्वास रहिआएको छ । भोली पुनः भारतको करुणा बिसौल प्रस्थान गर्नेछ ।