वीरगंज | धनुषामा एक युवकको घाँटी चक्कुले रेटेर हत्या गरेको छ । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ बल्हास्थित युवकलाई चक्कुले घाँटी रेटेर हत्या भएको हो ।
बुधबार बेलुकी करिब ८ः३० बजेको समयमा नेपाल–भारत सीमा (बोर्डर) स्थित रहेको स्थानीय ठगना भन्ने व्यक्तिको आँपको बगैँचामा बोलाएर घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हत्या हुनेमा स्थानीय अब्दुल करिम नदाफको १८ बर्षिय छोरा कैफ नदाफ रहेको प्रहरीले जनाएको छ । उनको घाँटी चक्कुले रेटेर भागेपछि नदाफ आफ्नो घर पुगेपछि लडेका थिए । उपचारको लागि लग्दै जाँदा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोही स्थान बस्ने नइन नदाफको छोरा बर्ष २० को सहमद नदाफ र अमिन नदाफको छोरा बर्ष २२ को जासिम नदाफले कैफ नदाफलाई फोन गरी आँपको बगैँचामा बोलाएका थिए । राती साथी भेटन गएका उनलाई चक्कुले घाँटी रेटेको बताईएको हो ।
घाँटी रेटेर भागेका जासिम नदाफ अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् भने अर्का समेत पक्राउ परिसकेको बताईएको छ । शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।