वीरगञ्ज । पर्साका प्रहरी उपरिक्षक (एसपी) कुमोध ढुंगेलले आफ्नो कार्यकालमा बिचौलियालाई प्रवेश निषेध गर्ने बताएका छन् ।पर्सामा एसपीको रुपमा कार्यभार सम्हालेका करिब एक महिनापछाडि पत्रकार सम्मेलन गर्दै एसपी ढुंगेलले आफ्नो कार्यकाल भरि बिचौलिया प्रवेश निषेध गर्ने सुनाए ।
उनले भने,‘बिचौलियले आ–आफ्नो फाइदा अनुसार सिफारिस गरेका हुन्छन्, त्यसकारण उनीहरुको प्रवेशमा कडाइ गरिएको छ । यही कडाइबाट बिचौलियालाई प्रवेशमा रोक लगाइएको छ ।’उनका अनुसार त्यसका लागि अहिले जिल्लामा प्रवेश गर्दा सबै डिटेल लेखेर मात्र प्रवेशको अनुमति दिइएको छ ।
उनी भन्छन्,‘यसबाट एउटै व्यक्ति कति पटक आयो, कस्ता खाले मुद्दामा आयो ?को–कसको सिफारिसमा आयो ? त्यो सबै विवरण लेखिएको हुन्छ, जसबाट छुटयाउन सजिलो हुन्छ । यहाँबाट धेरै पटक आउनेहरुको पहिचान भइसकेपछि त्यही बमोजिम कारबाही हुन्छ ।’
सर्वसाधारणको समस्याको सुनुवाइ भने अर्को दोस्रो व्यक्ति नआउँदा पनि उसको सुनुवाइ हुने एसपी ढुंगेलको भनाइ छ । त्यसका लागि गुनासो सुन्ने एउटा अधिकार नै राख्ने उनले बताए ।
उनी भन्छन्,‘बिना चप्पलको कोही आउनु भयो भने पहिला उहाँको गुनासो सुनिन्छ, तर कोही सिफारिस गराएर आउनु भयो वा कसैलाई लिएर आउनु भयो त्यसमा त्यही अनुसारको सुनुवाइ हुन्छ । त्यसकारण बिना बिचौलिया सेवा लिन
आउन सबैमा आग्रह छ ।’ शान्ति सुरक्षाको पाटोमा कुनै कसर बाँकी नराख्ने एसपी ढुंगेलको दाबी छ ।ऐन, कानुन भन्दा एक इन्च पनि तल झरेर काम नगर्ने आफ्नो रणनीति रहेको उनको भनाइ छ ।
यसैगरी इन्टिलिजेन्सबाहेक अरु कुनै प्रहरी घुमुवा नराख्ने एसपी ढुंगेलको दाबी छ ।