वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ दुर्गाहल पछाडीको गल्लीबाट शंकास्पद रुपमा हिँडीरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारले बोकेको झोलाबाट प्रहरीले स्रोत नखुलेको रकम बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाकाअनुसार उक्त झोलबाट स्रोत नखुलेको नेपाली १ हजार दरको ३३५ थान, ५ सय दरको ५६ थान गरी ६ लाख ८२ हजार नेपाली रुपैयाँ र २८ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।
कलवारको साथबाट कृषी विकास बैंकको २ थान चेकबुक, सानीमा बैंकको चेकबुक ५ थान, माछापुच्छ्रे बैंकको चेकबुक २ थान, एनआईएमबी बैंकको चेकबुक २ थान, मुक्तिनाथ विकास बैंकको चेकबुक २ थान, ग्लोबल बैंकको चेकबुक ३ थान, प्राइम बैंकको चेकबुक २ थान र मेघा बैंकको १ थान गरी १९ थान चेकबुक पनि बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
वान प्लस र रेडमीको १÷१ थान मोबाईल पनि बरामद भएको उनले जानकारी दिए । कलवारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको छ ।