सर्लाही | सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–८ बस्ने बस्ने वर्ष ३३ को राकेश बैठा रहेका छन्।
यही फागुन २९ गते अन्दाजी साढे ६ बजेको समयमा मलंगवा नगरपालिका–८ मा रहेको राजदेवी मन्दिर र सोही स्थानको झिलिमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड भएको थियो। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट परिचालित प्रहरी टोलीले आवश्यक अनुसन्धान तथा घटनास्थलमा रहेका सबुद प्रमाणको आधारमा बैठालाई नियन्त्रणमा लिएको जनाएको छ।
उनलाई धर्म सम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।।
साथै, मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुऱ्याउन नहुने, धार्मिक भावनामा आघात पुऱ्याउन नहुने, धार्मिक रीति स्थितिमा बाधा पुऱ्याउन नहुने, धर्म परिवर्तन गराउन नहुने व्यवस्था रहेको र धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको जानकारी गराउँदै यस्ता कसुर गर्ने वा गराउने व्यक्ति जो कोहीलाई पनि कानुन बमोजिम हदैसम्मको कारबाही गरिने व्यहोरा प्रहरीले चेतावनी दिएको छ।