नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिकरेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर प्रतितोला ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
साताको पहिलो दिन आइतबार प्रतितोला ७३ हजार ३ सय रुपैया रहेको प्रतितोला सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ बढेर अन्तिम दिन शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार र बिहीबार स्थिर रहको सुनको मूल्य शुक्रबार एकै दिन तोलामा १ हजार बढेर प्रति तोला ७४ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ बढ्न गएको बताए । गत भदौ महिनामा बढेको सुनको मूल्य त्यसयता घट्दै आएको अहिले आएर सुनको मूल्यमा एक्कासी वृद्धि भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने संकेत देखिएको उनको भनाइ छ ।अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक हजार ५ सय ४२ डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय मूल्यले प्रभाव पारेको तथा अमेरिका र इरानबीच टकाराव बढेकाले सुनको मूल्य अझै बढ्न सक्ने महासंघले जनाएको छ । यसअघि गएको भदौ १८ गते सुनको भाउ बढेर तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि उकालो लाग्दै गएको हो ।
बिहीबार छापावाला सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । सुनको मूल्य लगातार बढ्दै गएपछि कारोबार एकदम न्यून भएको छ । लगनको सिजन नभएको र मूल्य पनि लगातार बढ्दै गएकाले कारोबार नै नभएको व्यवसायीको भनाई छ ।
यस अघि सुनको मूल्य तोलामा ७३ हजार ५ सय रुपैयाँ पुगेपछि कारोबार नभई बैंकमा सुन थन्किएको थियो । यसैबीच, असली चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । Nepalpostdaily