हेटौंडा | मकवानपुरको हेटौँडामा गाँजा तस्कर गर्न भारतीय सवारी साधान प्रयोग हुँदै आएको नौलो कुरा होइन। तर, भारतीय सवारी साधनमा तस्करी गर्न लागिएको गाँजासहित तस्कर पक्राउ गर्न खोज्दा प्रहरीले चार राउण्ड हवाई फायर गर्नु परेको छ।
हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट प्रहरीले लागुऔषध गाँजा ३२ केजीसहित तीनजनालाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको हो। हवाई फायर गरेको २ राउण्ड फायर मिस भएको मकवानपुर प्रहरीले जनाएको छ। हेटौँडा हुँदै भारततर्फ निकासी गर्न लागिएको गाँजा भारतीय कारमार्फत निकासी गर्न लागिएको सुराकीको आधारमा खबर पाएपछि प्रहरीले तत्कालै ‘एक्सन’ लिएको हो।
हवाई फायर गरी प्रहरीले डिएल ३ सीएक्यु ४१७२ नम्बरको कारलाई नियन्त्रणमा लिएको हो। कार छाडेर भाग्दै गरेका भारत मोतिहारी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलीप कुमार सिंह, मोतीहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्वल कुमार ठाकुर र रौतहट यमुनामाइ गाउँपालिका-४ बस्ने २४ वर्षीय विकाश सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले ३२ केजी गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो। ट्रकमा २१ केजी गाँजा त्यसैगरी, रातोमाटेबाट नै गएराति २१ केजी गाँजासहित एकजनालाई पक्राउ गरिएको छ। मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको ना. ५ ख ७२६८ नम्बरको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित चालक राक्सीराङ गाउँपालिका-५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकालाई लागुऔषध कारोबार ऐनअन्तर्गत प्रहरीले मुद्दा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भटराईले बताए। Thahakhabar