वीरगंज | मितेरी पुलमा केही महीनादेखि अनधिकृतरूपमा डेरा जमाएर बसेको भारतीय एसएसबीले शनिवारदेखि चार पाङ्ग्रे नेपाली गाडीहरूलाई रक्सौल प्रवेशमा रोक लगाएको छ ।
यसअघि रक्सौल नगरपरिषद्ले तीन पाङ्ग्रे टेम्पो र ईरिक्शालाई रक्सौल प्रवेशमा रोक लगाएको थियो । शनिवार विनापूर्व सूचना एसएसबीले नेपाली चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाएपछि मितेरी पुलदेखि शङ्कराचार्यद्वारसम्म सवारी जाम भएको थियो ।
तीन पाङ्ग्रे टेम्पो र ईरिक्शा मितेरीपुलको तल पार्किङ गरिराखेको र आजदेखि चार पाङ्ग्रे सवारीसाधनहरू पनि पार्किङ गरिंदा जाम भएको छ ।
यसअघि केही महीना पहिले चार पाङ्ग्रे सवारीसाधनहरू भारतीय कस्टमले रोक लगाएको थियो । त्यतिखेर सांसद प्रदीप यादव, नगरप्रमुख राजेशमान सिंहको पहलमा सो रोक हटाइएको थियो ।