वीरगंज | मोरङ टिपरले बोलेरो जीपलाई ठक्कर दिंदा तीन जनको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्रबार बिहान बेलबारीखण्डमा टिपरले बोलेरो जीपलाई ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको मे१झ २८५६ नम्बरको सुमो गाडीलाई ठक्कर दिएको मोरङका डीएसपी रन्जनकुमार दाहालले बताए ।
ठक्करपश्चान सुमो वाग्मती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रीवाहक बसमा ठोक्किन पुगेको दाहालले जानकारी दिए । दुर्घटनामा परी झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया दीपा खनालको घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै, उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा झापाकै बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई घाइतेको उपचार न्युरो अस्पतालमा भइरहेको छ । एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।