सुर्खेत । निजी क्षेत्रको तारा एयरलायन्सले कालिकोटको कोटबाडा सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको छ । भोली प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन हुने कोटबाडा सुनथराली विमानस्थलमा आज विहान तारा एयरलायन्सले सफल परीक्षण उडान गरेको हो ।
उद्घाटन पूर्व तयारीका सबै पक्षको अध्ययन गर्नकका लागि तारा एयरको (नाईनएन–एकेएल) विमानले परीक्षण उडान गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहराले बताउनु भयो । उहाँले आज बिहान ९:२१ बजे नेपालगञ्जबाट उडेको क्याप्टेन पीएस नगरकोटीसहित नौ जनाको प्राबिधिक टोलीले सुनथराली विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्रीद्वारा सोमबार विहान १० बजे सुनथराली विमानस्थलको उद्घाटन हुने कार्यक्रम तयारीलाई तीव्र पारिएको छ । परीक्षण उडानका लागि आएको प्राविधिक टोलीलाई नरहरिनाथ गाउँपालिकाको टोलीसँगै स्थानीयवासीले भव्य स्वागत गरेका छन् । विमानस्थलको फागुन १४ गते (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।