वीरगंज । धोबिनी गाउँपालिका–४ लंगडीमा बस्दै आएकी दुई दिदीबहिनीमाथि समयको बज्रपात परेको छ । १० वर्षीया प्रियंका कुमारी ठाकुर र सात वर्षीया मनीषा कुमारीको आफन्त कोही छैन । आठ वर्ष पहिले आमाबुबाको मृत्यु भएपछि वृद्ध हजुरआमाको घरमा बस्दै आएकी थिइन् तर एक दिन उनको हजुरआमाको पनि मृत्यु भएपछि अहिले दुवैजना टुहुरो भएका छन् । लंगडीमा रहेको फुसको जर्जर झुपडीमा बस्दै आएकी दुवैजना यतिबेला हजुरआमाको श्राद्धको लागि रकमको खोजीमा छन् । प्रियंकाले आँखाबाट आँसु झार्दै भनिन्– नसिब (भाग्य)ले मारेको छ हाम्रFे जिन्दगी । आमाबुबाको निधन भएपछि हजुरआमाले जसोतसो पाल्दै आइरहेकी थिइन् तर उनको पनि मृत्यु भयो । मैले नै मुखाग्नि दिए । क्रिया बसेको छु र श्राद्धको लागि सहयोगको अपेक्षा राखेको छु ।
प्रियंकाको हजुरआमाको श्राद्ध फागुन १५ गते सोमवार परेको र आफूसंग एक सुको पनि नरहेको बताइन् । स्व. दशई ठाकुर हजामको दुर्ईवटा छोरी रहेको र दुवैको विवाह भइसकेको थियो । दशइ ठाकुरको कान्छी छोरी र ज्वाई उनकै घरमा बस्दै आइरहेकी थिइन् । दशईको सम्पत्तिको नाममा एक मात्र झोपडी रहेको छ भने खेतबारी छैन । कान्छी छोरीले पनि दुईवटा छोरी जन्माइन् – प्रियंका कुमारी र अनिषा कुमारी । उनीहरु जन्मिएको केही दिनपछि बुबा छेदी ठाकुरको ३० वर्षको उमेरमा मृत्युु भयो । बुबा कमाउन बाहिर गएको बेला उनको अज्ञात समूहले हत्या गरेको प्रियंका बताउंछिन् । उनले बुबाको शव समेत हेर्न पाइनन् ।
त्यसको केही दिनपछि आमाले पनि उनीहरुलाई छाडेर गयो । त्यसपछि प्रियंका र मनिषा हजुरआमासंगै बस्दै आइरहेकी थिइन् । हजुरआमाले पनि गाउंघरमा मागेर दुईवटा नातिनीको भरणपोषण गर्दै आइरहेकी थिइन् । तर फागुन ३ गते हजुरआमाको पनि कालगतिले निधन भयो । अब यस संसारमो दुवै दिदीबहिनीको कोही आफन्त नभएपछि सहयोगको लागि भौतारिरहेकी छन् । हजुरआमाको छोरा नभएको कारण १० वर्षीया प्रियंकाले हजुरआमालाई मुखाग्नि दिएर क्रियाकर्ममा बसेकी छन् र सहयोगको अपेक्ष्Fा गरेका छन् ।