वीरगंज । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भदौदेखि डीडीसीले किसानको दुधको भुक्तानी नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले दूध किसानहरु मारमा परेको बताए ।
उनले भने–‘आत्मनिर्भर हुँदै गरेको नेपालको दूध व्यवसाय अहिले गम्भीर संकटमा रहेको छ । गाईभैसी पालेर गर्जो टार्ने सर्वसाधारणहरू गम्भीर मारमा परेका छन् । २ हजार दूध उत्पादक सहकारीहरू २० हजार रोजगारदाताहरू, ५ लाख घरधुरीहरू प्रत्यक्ष लाभान्वित छन्। तर डीडीसीले भदौदेखि हालसम्म भुक्तानी गरेको छैन, सडकमा दूध पोखिने गरेको छ ।’सर्वसाधारणको जनआक्रोश पोखियो भने यसलाई थेग्न असम्भव हुने भन्दै संसद् सापकोटाले बेलैमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।