वीरगंज । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको सहिद स्मारकमा राष्ट्रिय झन्डा फहराइएको छ। सहिद स्मारक विकास समितिले प्रजातन्त्र दिवसको अवसर पारेर ६५ फिट अग्लो डन्डीमा २२ फिट लामो झन्डा फहराएको हो। सोमबार वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले स्मारकपरिसरमा राष्ट्रिय झन्डाेत्तोलन गरे। यो जिल्लाकै अग्लो झन्डा हो। झन्डाेत्तोलन गर्दै आचार्यले प्रजातन्त्र दिवसको अवसर पारेर ६५ वर्षको उमेरमा ६५ फिटको झन्डा फहराउन पाउनुलाई आफूले ठूलो अवसरको रूपमा लिएको बताए। उनले स्मारकमा फहराइएको झन्डाले आमनेपालीलाई राष्ट्र र राष्ट्रियताको पक्षमा एकताबद्ध बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरे।
कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्मारक हेटौँडा र बागमती प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट पार्कका रूपमा विकास हुँदै गएको बताए। उनले स्मारकमा देशबाहिरबाट समेत पर्यटनका लागि पर्यटकहरू आउने गरेको जानकारी दिए। सोमबारबाटै स्मारकपरिसरमा दैनिक बिहान १० बजे राष्ट्रिय गान बजाउने कार्यको सुरुवात गरिएको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले बताए।
कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशकी पूर्वराज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, हेटौँडा– ११ की वडाअध्यक्ष जुना दाहाल, ४ नम्बर वडाध्यक्ष नविन सिग्देललगायतको उपस्थिति थियो।