वीरगंज । अर्थसमितिका सदस्य पूर्णबहादुर तामाङले पाँच सय र एक हजार दरका नोटहरू नचल्ने गराउनु पर्ने राय राखेका छन्। अर्थसमितिको आज (बिहीबार)को बैठकमा उनले कम्तीमा पनि एक वर्षको लागि यस्तो रकम नचल्ने गराउनु पर्ने बताएका हुन्। अर्थतन्त्र सुधार र सुशासन कायम गर्नको लागि पनि यस्तो कदम चाल्नु पर्ने उनको भनाइ थियो। तामाङले सुधारको लागि निश्चित समय दिएर विगतको रकम सो घोषणा गर्न दिनुपर्ने बताए।
अहिले धेरैसँग पैसा छ बाहिर निकाल्न सकेका छैनन्, व्यापारीसँग पनि होला, कर्मचारीसँग पनि छ, यस्तो पैसा कुहियो,’ तामाङले भने, ‘निश्चित समय दिएर यस्तो रकम निकाल्ने अवसर दिनुपर्छ।’उनले अर्थतन्त्र सुधारको काम ठिक ढंगले नभएको बताए। निर्माण आयोजनाहरूमा म्याद थपको निर्णय गर्दा सरकारलाई एक खर्बको दायित्व थपिने भएपछि म्याद थप नगरेको उनको भनाइ छ। समिति सदस्य ज्ञानेन्द्र बहादुर शाहीले भन्सार नाकाहरूबाट अन्डर भ्वाइस (यथार्थ मूल्यभन्दा कम मूल्य देखाएर) सामान्य आयात हुँदा राजस्व चुहावट बढेको बताए। उनले सबै भन्सार कार्यालयहरूमा अनुगमन गर्न आवश्यक रहेको बताए।