वीरगंज | चालू आर्थिक वर्षको पुस मसान्तसम्म महोत्तरीमा ३१ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मधेश प्रदेशभर यस अवधिमा दुई सय ५५ जनाले ज्यान गुमाएका छन् । महोत्तरीको दुई सय ६५ सहित प्रदेशमा भएको कुल चार हजार चार सय ७७ सवारी दुर्घटनामा सो संख्यामा मृत्यु भएको हो ।
मृत्यु हुनेमा महिला र पुरुषसँगै बालबालिकासमेत छन् । ठूला, मझौला र साना सवारीसाधनबाट भएका दुर्घटनाबाट महोत्तरीमा ८४ जना गम्भीर र तीन सय २५ जना सामान्य घाइते भएका छन् । मधेश प्रदेशमा कुल पाँच हजार ६६ जना घाइते भएको तथ्यांक छ ।
ट्राफिक प्रहरीले निरन्तर चेकजाँच, कारबाही र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि दुर्घटनामा भने कमी आउन सकेको छैन । मुख्य तथा भित्री सडकमा समेत ओभर स्पिड तथा मादक पदार्थ सेवनका कारण दुर्घटना हुने संख्या धेरै छ । केही दुर्घटना भने मौसमका कारण भएको देखिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल दुर्घटनाको संख्या धेरै छ । हेल्मेट नलगाउने, मापसे गरी सवारी चलाउने, एउटै मोटरसाइकलमा तीनदेखि चारजना बस्ने, ओभर स्पिड र सवारीचालक अनुमतिपत्र नभएका बढी दुर्घटनामा परेका उनको भनाइ छ ।