वीरगञ्ज । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले व्यापारीको पैसा खाएर पार्टी चलाइरहेका नेताले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई छाड्न दबाब दिएको बताएका छन् । सरकार चलाउने दलको संरक्षणमा सार्वजनिक सम्पत्ति लुटिएको उनले आरोप लगाए ।
बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद सिंहले बाँसबारी जग्गा हिनामिनामा पक्राउ परेकालाई छाड्न प्रधानमन्त्री र सत्ता गठबन्धनका नेताले प्रहरीलाई दबाब दिएको बताएका हुन् ।
‘सरकारको संरक्षणमा, सरकार चलाउने दलको संरक्षणमा सार्वजनिक सम्पत्ति लुटिएको हो । बाँसबारीको कुरा आयो । प्रहरीले समातेको दुई घण्टा नहुँदै प्रधानमन्त्री र गठबन्धनका नेताबाट प्रहरीको आइजीलाई तारनतार फोन जान थाल्यो, तुरुन्तै छाड्नू । किनकि त्यही व्यापारीको पैसा खाएर पार्टी चलाइरहेका छौँ’, सांसद सिंहले आक्रोशित हुँदै संसद्मा भने ।
बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई छाड्न सत्तारुढ दलका नेताहरूले प्रहरीलाई दबाब दिएको समाचार बाहिर आएको थियो ।
बुधवार नै प्रतिनिधि सभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले बाँसबारी जग्गा प्रकरणमा काङ्ग्रेस सांसद विनोद चौधरीको संलग्नता रहेको भन्दै प्रस्ट पार्न काङ्ग्रेससँग माग गरेका छन् ।
‘उद्योग व्यापारीको भेषमा चौधरी ग्रुपका अरुण चौधरीले तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको र सो विषयमा यस संसद्का सदस्य (विनोद चौधरी) समेतको संलग्नता भएको हुनाले सम्बन्धित दल नेपाली काङ्ग्रेसले स्पष्ट पार्न अनुरोध गर्दछु,’ सुवालले भने ।