बारा । निजगढ नगरपालिका भित्र रहेका खोलाहरूको कानुन सम्बद्ध ढङ्गले ठेक्का लगाउनु अगावै अवैध ढङ्गले चोरी तस्करी भएको गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमन गरेको छ ।
जिल्ला समन्वय समिति, स्थानीय प्रहरी, प्रशासन, डिभिजन वन कार्यालयका प्रतिनिधिहरूले निजगढको लाल बकैया र बकैया खोला खोलाको मङ्गलवार साँझ अनुगमन गरेका हुन् ।
टोली अनुगमनमा जाने पूर्व सूचना चुहाएपछि खोलामा ठुला ठुला खाल्टा खुल्टी भए पनि ट्याक्टर, टिपर र एक्स्काभेटर भने नभेटिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जनाएका छन् ।
सायद हामी खोला अनुगमनमा जाँदै छौ भन्ने सूचना पहिल्यै पुगेछ खोलामा चरामुसा केही थिएन तर खोलाको अवस्था हेर्दा डरलाग्दो थियो, एक्साभेटरले खनेजस्तै ठुला खुला खाल्टाहरू छन्’ प्रजिअ घिमिरेले भने ‘नगरपालिकाले हामी ठेक्काको प्रक्रियामा छौ भने पनि खोलामा हेर्दा सबै माल अवैध ढङ्गले चोरी तस्करी भईसके जस्तो देखिन्छ, अव हामी सबै सरोकारवाला निकायले दोहन कडाइका साथ नियन्त्रण गर्छौ ।’
प्रजिअ घिमिरेले अबैधरुपमा भइरहेको नदीजन्य पदार्थ उत्खनन रोक्न निजगढ नगरपालिका नगरप्रमुख सुरथ पुरीलाई आग्रह गरेका छन् ।
उनले ठेक्का नलागेको खोलामा अनुगमनको क्रममा १० देखि १५ फिटसम्म गहिरो खाडल भेटिएको बताएका छन् ।