वीरगञ्ज । वीरगञ्जबाट पैदल हिँडेर राम जन्मभूमि भारतको अयोध्या पुगेर फर्किएका युवाहरूलाई वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सम्मानित गरेका छन् । राष्ट्रिय बजरङ्ग दल पर्साका ११ जना युवाहरू पुस २६ गते वीरगञ्जबाट १४ दिनको पैदल यात्रा गरेर माघ ८ गते अयोध्यामा नव निर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी भएका थिए ।
अयोध्याको राम उत्सवमा सहभागी भएर वीरगञ्ज फर्किएका तीनै युवाहरूलाई सोमबार आफ्नै कार्यकक्षमा बोलाएर मेयर सिंहले खादा र रुद्राक्षको माला लगाउनुका साथै कदर पत्र प्रदान गरी सम्मानित गरेका हुन् । मेयर सिंहले सम्मानित गरेका युवाहरूमा चन्दन वर्णवाल, सौरभ पटेल, यश सरार्फ, मुन्ना सरार्फ, कृष्णा साह, रूपक यादव, मुन्ना साह लगायतका रहेका छन् ।
सिंहले युवाहरूलाई सम्मानित गरेका बेला वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, नारायणी अस्पतालका मेसु डाक्टर चित्तरन्जन साह, वडाध्यक्ष द्वय प्रदीप चौरसिया, जयप्रकाश अग्रवाल लगायतको पनि उपस्थिति रहेको थियो ।