वीरगन्ज | मधेस प्रदेशमा माघ ५ गते आज छैठाैं बलिदानी दिवस मनाइँदै छ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा मधेस प्रदेश सरकारले आज बलिदानी दिवस मनाउन लागेकाे हाे। प्रदेश सरकारले आज वीरगन्जको नगरसभागृहमा बलिदानी दिवस कार्यक्रम गर्दैछ ।उक्त कार्यक्रमकाे प्रमुख अतिथि जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव छन् ।
मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिराहाको लहानमा स्थानीय रमेश महतोले साहदत्त दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन् । विसं २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो ।
माघ २ गतेदेखि सुरु भएको उक्त आन्दोलनका क्रममा माघ ५ गते सिराहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत सिराहा मझौराका विद्यार्थी रमेश महतोको निधन भएको थियो ।त्यसपछि मधेसभर आन्दोलन भएको थियो । पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो ।
उक्त आन्दोलनलाई मधेसवादीहरूले मधेस जनविद्रोहको संज्ञा दिने गरेका छन् । त्यही जगमा देशमा सङ्घीयता र संविधान आएको जनाउँदै मधेस प्रदेश सरकार गठन भएदेखि नै यहाँ सहिदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो । त्यसयता विसं २०७४ सम्म पटक पटक भएका मधेस आन्दोलनमा एक सय १७ जनाको ज्यान गएको मधेसवादी दलहरूले दाबी गर्दै आएका छन् तर मधेसी सहिद प्रतिष्ठानसँग ६३ जनाले साहदत्त प्राप्त गरेको र ७२ घाइते भएको तथ्याङ्क छ । बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।